ठूला सुन पसलमा गडबडी देखियो : नापतौल विभाग

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

७ जेठ, काठमाडौं । टेलिभिजनमा विज्ञापन हेरेकै भरमा यदि तपाई सुन पसलमा गरगहना खरिद गर्दै हुनुहुन्छ भने तपाईले भनेजस्तै मात्रामा सुन नपाउन सक्नुहन्छ । मंगलबार बजार अनुगमनमा गएको सरकारी टोलीले न्यूरोड र दरबारमार्गमा सञ्चालित ख्यातीप्राप्त ज्वेलरी पसलमा तोकिएको भन्दा कम गुणस्तर फेला पारेपछि यस्तो आशंका जन्मिएको हो ।
 
सुन पसलेहरुले सरकारले अनुगमनका नाममा व्यवसायमा झण्झट दिएको गुनासो गरिरहेका बेला नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक शैलेशकुमार झाको नेतृत्वमा गएको अनुगमन टोलीले मंगलबार न्यूरोडमा सञ्चालित रिद्धिसिद्धि ज्वेलर्स, शालीमार ज्वेलर्स, सगुन डायमण्ड र दरबारमार्गमा रहेको गीताञ्जली ज्वेलर्समा छड्के अनुगमन गरेको छ ।

अनुगमनका क्रममा रिद्धिसिद्धि ज्वेलर्सले २४ क्यारेट र २२ क्यारेटका सुनका गरगहनामा गडबडी देखिएको विभागका उपमहानिर्देशक विश्वबाबु पुडासैनीले बताउनुभयो । अनुगमनका क्रममा रिद्धिसिद्धिबाट ल्याएको नमूना परीक्षण गर्दा २४ क्यारेटका गरगहनामा सुनको मात्र ९७ दशमलव ५ प्रतिशतमात्रै भेटिएको उहाँले अनलाइनखबरलाई बताउनुभयो । उहाँका अनुसार २४ क्यारेट सुनका गरगहनामा न्यूनतम ९९ दशमलव ५ प्रतिशत सुनको मात्रा हुनपर्छ ।

रिद्धिसिद्धिले सुनका गरगहनामा हानीकारक धातु क्याडमियम प्रयोग गरेको समेत विभागका अधिकारीहरुको दाबी छ । परीक्षणका क्रममा १ दशमलव १५ प्रतिशत क्याडमियम धातु फेला परेको पुडासैनीले जानकारी दिनुभयो । त्यस्तै, २२ क्यारेटका गरगहनामा न्यूनतम ९१ दशमलव ६ प्रतिशत सुनको मात्रा हुनपर्नेमा जम्मा ९० दशमलव २ प्रतिशतमात्र सुनको मात्रा भेटिएको उहाँले बताउनुभयो ।

त्यस्तै शालीमार ज्वेलर्सका गरगहना २४ क्यारेटमा ठीक भेटिए पनि २२ क्यारेटका गरगहनामा जम्मा ८९ दशमलव २ प्रतिशतमात्रै सुनको मात्रा भेटिएको छ विभागको आरोप छ । शालीमारले २२ क्यारेटका गरगहनामा उपभोक्ताहरुलाई २ प्रतिशत कम बेचेको विभागले बतायो ।

भारतको चर्चित ब्राण्ड गीताञ्जली सुन पसलले पनि उपभोक्ताहरुलाई मारमा पारेकेा बताइएको छ । गीताञ्जलीले केही महिना अगाडि दरबारमार्गमा शाखा विस्तार गरेको थियो । गीताञ्जलीका १८ क्यारेटका गरगहनामा त्रुटी फेला परेको पुडासैनीले बताउनुभयो । उहाँका अनुसार १८ क्यारेटका सुनका गरगहनामा ७५ प्रतिशत मात्रा हुनपर्नेमा जम्मा ७१ प्रतिशतमात्र सुनको मात्रा फेला परेको छ ।

त्यसैगरी सगुन ज्वेलर्सबाट ल्याएको नमूना परीक्षण गर्दा सबै ठीक भेटिएको उपमहानिर्देशक पुडासैनीले जानकारी दिनुभयो । तर, यी ज्वेलरीहरुले क्याडमियम धातुको समेत प्रयोग गर्दै आएको भेटिएको छ । क्याडमियम धातु मानव शरीरका लागि हानीकारक मानिन्छ ।

सुन पसलमा खटिएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र उपभोक्ताकर्मीहरुको सहभागिता थियो । अनुगमनको क्रममा दोषी देखिएका व्यवसायीलाई कानुन बमोजिम कारबाही गरिने उपमहानिर्देशक पुडासैनीले बताउनुभयो ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस