पाठेघरको शल्यक्रिया गर्दा महिला झन् पीडित

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

काठमाडौ – सरकारले सन् २००८ र २०११ को बीचमा अभियान नै चलाएर २४ हजार ४ सय ९८ जना महिलाको पाठेघरको शल्यक्रिया गरायो ।

बिभिन्न जिल्लामा गरिएका सर्जिकल क्याम्पमा धेरै महिलाले पाठेघर खस्ने समस्याबाट सधैका लागि छुटकारा पाउने आशाले शल्यक्रिया गराएका थिए । तर उनीहरुको अहिलेको अवस्था कस्तो छ भन्नेबारे सरकारी निकाय र शल्यक्रिया गर्ने स्वास्थ्य संस्था नै अनभिज्ञ छन् ।

मानव अधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार नेपालमा पाठेघरको शल्यक्रिया गरेका धेरै महिलाको शल्यक्रियापछिको अवस्था थाहा हुन सकेको छैन । उसको प्रतिवेदन अनुसार पाठेघर खस्ने समस्या भएका महिलाको पछिल्लो स्वास्थ्य अवस्थाको अनुगमन, शल्यक्रियाको विकल्प र अवस्थाको बारेमा सरकारले कुनै चासो देखाएको छैन ।

सरकारी र अरु क्षेत्रबाट शल्यक्रियापछि कुनै चासो नदेखाइएको र शल्यक्रियाकै अवस्थामा धेरै लापरबाही हुने गरेको महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालकी संस्थापक अध्यक्ष रेणु राजभण्डारीले बताउनुभयो ।

‘पाठेघर काट्ने र फाल्ने मात्र भएको देखिन्छ, त्यसपछि हुने जोखिम र महिलालाई शल्यक्रिया अघि र पछि दिनुपर्ने मनावैज्ञानिक परामर्शको कुनै ख्याल राखिन्न’ उहाँले भन्नुभयो ‘अहिलेको अवस्था देख्दा त हामीले बेकारमा यो समस्याका बारेमा वकालत गर्‍यौं जस्तो लाग्छ ।’

गरिबी, कुपोषण, गर्भवती भएको बेलामा तालिमप्राप्त प्रजनन् सहायताकर्मी र आपतकालीन प्रसुती सेवा दिने मानिसको अभाव र सुत्केरी भएपछिको कामको चापले धेरै नेपाली महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् ।

यस्ता महिलालाई जोखिमबाट बचाउन सरकारले शल्यक्रियाको व्यवस्था त गर्‍यो तर शल्यक्रिया कै कारण उनीहरु थप जोखिममा परेकोप्रति भने बेवास्ता भएको छ ।

सन् २०१२ मा ओरेकले नै फिस्टुलाबाट ग्रसित महिलाको शल्यक्रियाका लागि आयोजना गरेको क्याम्पमा ४१ जना महिलाले सेवा लिएका थिए । तीमध्ये १४ जनालाई पाठेघरको शल्यक्रियाको क्रममा भएका लापरबाहीका कारण फिस्टुला भएको पाइएको ओरेककी परामर्शदाता शोभा यादवले जानकारी दिनुभयो ।

यस्ता महिलाहरु मानसिक रुपमा विक्षिप्त हुने गरेको पाइएको उहाँले बताउनुभयो । ‘पहिला नै समस्या भोगेका र पछि निको हुने आशा गरेका महिलाहरु आशा पुरा नहुँदा झन् निराश हुने गरेको पायौं’ उहाँले भन्नुभयो ‘नयाँ समस्या र शल्यक्रियाको शिकार भएका यी महिलाले बरु आफु पहिला कै अवस्थामा खुशी भएको कुरा परामर्शका क्रममा भन्ने गरेका छन् ।’

शल्यक्रियाबाट पाठेघर निकालेका महिलाहरुलाई सङ्क्रमण, हार्मोन सम्बन्धी समस्या धेरै देखिनुका साथै राम्रो ध्यान नदिएका कारण अर्को शल्यक्रियाको आवश्यकता पनि हुन सक्छ । बेलाबेलामा दिनुपर्ने भिटामिन, क्याल्सियम र आउन सक्ने समस्याका बारेमा परामर्शका लागि पनि उनीहरु चिकित्सककोमा जानु जरुरी हुन्छ ।

शल्यक्रियापछि चिकित्सककोमा जाँदा स्वास्थ्यमा आएका जोखिम र शल्यक्रियाका क्रममा भएका त्रुटीहरुलाई समयमा सच्याउन सकिने पाटन अस्पतालकी स्त्री रोग विषेशज्ञ डा. बिमला मल्लले बताउनुभयो ।

उहाँका अनुसार शल्यक्रिया गर्दैमा पाठेघर खस्ने समस्या समाधान हुदैन । उनीहरुको खाना, आराम र गर्न हुने र नहुने काममा विषेश ध्यान दिनुपर्छ । शल्यक्रिया गरेपछि २ वर्षसम्म हरेक २ महिनामा चिकित्सककोमा जानुपर्छ । धेरै टाढा छ भने हरेक ६ महिनामा जाँदा पनि हुन्छ ।

नेपालमा करिब ६ लाख महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको अनुमान छ । तीमध्ये २ लाख जनालाई तत्कालै शल्यक्रियाको आवश्यकता छ । शल्यक्रियापछि महिलाको स्वास्थ्य अवस्था, शल्यक्रियाको विकल्प र गुणस्तरियतामा ध्यान नदिने हो भने धेरै महिलामा स्वास्थ्य समस्या घट्नुका साथै झन् बढ्न सक्ने विशेषज्ञहरु बताउँछन् । -UjyaaloOnline.com

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस