वैद्य र प्रचण्डलाई मिलाउन तीनतिरबाट प्रयास

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

Trying to convince Prachanda's and Kiran's party

संकटमा नफसेसम्म दुई माओवादीवीच एकता कठिन

४ असार, काठमाडौं । नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड र बाबुरामलाई गद्दार र दलाल भन्दै सार्वजनिक वक्तव्य निकाले पनि दुई पक्षलाई मिलाउन र पार्टी एकता गर्न दुबै समूहका तीन-तीनजना नेताहरु सक्रिय बनेका छन् । तर, दुबैपक्षमा संकट नआउँदासम्म एकता सम्भव देखिँदैन । पछिल्लो समयमा नेपाली राजनीतिमा वैद्यपक्ष आक्रामक र प्रचण्डपक्ष रक्षात्मक देखिन थालेको छ ।

एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका नेत्रविक्रम चन्दवीच पार्टी एकताका विषयमा छलफल भइरहेको छ । यो छलफललाई विप्लव आफैंले दुई दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा समेत स्वीकार गरेका छन् । पार्टी. एकताका लागि एमाओवादीले आफ्ना कमजोरीहरु सच्याउनुपर्ने विप्लवको भनाइ छ ।

पार्टी एकताबारे भट्टराई र विप्लववीच वार्ता भैरहेका बेला उता अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने नेकपा माओवादीका महासचिव रामबहादुर थापा वादलसँग कुरा गरिरहेको स्रोत बताउँछ ।

तेस्रो कोणबाट एमाआओवादी नेता कृष्णबहादुर महराले सोझै मोहन वैद्यसँग कुराकानी गरिराखेको बुझिएको छ । ‘महराजीले वैद्यसँग, प्रकाशजीले बादलसँग र बाबुारमजीले विप्लवसँग निरन्तर सम्वाद गरिराख्नुभएको छ ।’- स्रोतले अनलाइनखबरलाई भन्यो ।

लय मिल्नेवीच वार्ता

स्रोतको दाबी अनुसार विप्लव र बाबुराम, प्रकाश र बादल अनि महरा र वैद्यवीच एकापसमा लय मिल्ने भएकाले उनीहरुवीच सम्वाद हुने गरेको हो । ‘विप्लवको ध्येय प्रचण्डको सेखी झार्नु रहेकाले उनी यसमा बाबुरामको साथ लिन चाहन्छन् ।’ स्रोत भन्छ-’आफूलाई पछि पारेर प्रचण्डले अनन्तलाई नेता बनाएको रिस विप्लवलाई छ ।’ उता नारायणकाजीकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादलचाहिँ बाबुराम भट्टराईलाई आफ्नो प्रतिश्पर्धी ठान्छन् र उनलाई कमजोर पार्न र आफूहरु मजबुद बन्न चाहन्छन् । यही चाहनाअनुसार प्रकाशले बेलाबखत पार्टीमा राष्ट्रियताको कुरा उठाएर वैद्यपक्षको विश्वास जित्ने प्रयास गरिरहेको बताइन्छ ।

तर, मोहन वैद्य भने नारायणकाजीलाई पटक्कै रुचाउँदैनन् । बरु बाबुराम भट्टराई इमान्दार रहेछन् भन्ने वैद्यको निश्कर्ष छ । त्यसैले मोहन वैद्यसँग अत्यन्तै निकट र घनिष्ट सम्बन्ध रहेका एमाओवादी नेता महरा र वैद्यवीच एकताको सम्भावनाबारे छलफल हुने गरेको स्रोतको दाबी छ । यसका लागि महराले एमाओवादीको महासचिव पदमा पुग्न हेटौडा महाधिवेशनमै प्रयास गरे पनि उनलाई महासचिव नबनाई पोष्टबहादुर बोगटीलाई ल्याइयो । तर, अहिले पनि वैद्य र महरावीच सघन सम्वाद भैरहेको स्रोतले बताएको छ ।

एकीकृत माओवादीमा एउटै धु्रब नरहेको र पार्टी पुनर्मिलन गर्दा कुन गुटलाई के कति फाइदा हुन्छ भन्ने हिसाब-किताव भैरहेको स्रोतको भनाइ छ । समग्रमा वैद्यपक्षले नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराईलाई नरुचाउने प्रचण्ड पक्षका नेताहरुको अनुमान रहे पनि विगतको धोबीघाट गठबन्धनमा वैद्य, नारायणकाजी र डा. बाबुराम भट्टराई एकजुट भएको इतिहास छ । यो अवस्थामा पार्टी एकता गर्नेपर्ने अवस्था आयो भने दुई किसिमको समीकरण बन्न सक्ने सम्भावना देखिन्छ ।

प्रचण्ड-वैद्य एकातिर, बाबुराम-नारायणकाजी अर्कातिर

प्रचण्ड र मोहन वैद्य निकै पुराना गुटहरु हुन् । उनीहरुवीच वैचारिकमात्रै होइन, भावनात्मक सम्बन्ध पनि छ । तर, बाबुराम र नारायणकाजीलाई उनीहरु पछि आएका मान्छन् र पराई व्यवहार गर्नेगर्छन् । यसैकारणले भोलि प्रचण्ड र वैद्यलाई राजनीतिक संकट आइलाग्यो भने उनीहरु रातारात मिल्न पनि सक्छन् । र, वैद्य र प्रचण्ड पक्ष हठात् मिले भने नारायणकाजी र बाबुराम समूहलाई पाखा लगाउने प्रयास हुन सक्छ । तर यस्तो मूल्यमा एकता गरिहाल्नका लागि यतिबेला न प्रचण्डले वैद्यलाई विश्वास गर्ने स्थिति छ, न वैद्यले प्रचण्डलाई । प्रचण्डलाई वैद्याले दक्षिणपन्थी र प्रचण्डले वैद्यलाई जडसूत्रवादी देख्न थालिसकेको अवस्था पनि आइसकेको छ ।

प्रचण्ड र वैद्यलाई परिस्थितिले एक गरायो अनि बाबुराम र नारायणकाजीलाई पाखा लगाउनुपर्ने वैद्यको प्रस्ताव प्रचण्डले स्वीकार गर्नुपर्ने स्थिति सिर्जना भयो भने पनि नारायणकाजी र बाबुराम पक्षवीच मिलाप हुने खासै सम्भावना देखिन्न । यस्तो अवस्थामा दुबै पक्षले प्रचण्डसँगै आफूलाई नजिक बनाउने प्रयत्न गर्नेछन् । यद्यपि संसदीय राजनीतिमा घुलमिल भैसकेका प्रचण्डका लागि बाबुराम र वैद्यलाई बेवास्ता गरेर अघि बढ्ने निर्णय लिनु निकै कठिन हुनेछ ।

धोबीघाट गठबन्धन एकातिर, प्रचण्डमात्रै अर्कातिर

एमाओवादी र माओवादीवीच पार्टी एकताका लागि नारायणकाजी, बादल, विप्लव र बाबुरामवीच चलिरहेको छलफलले चाहिँ धोबीघाटमा जस्तै बाबुराम, नारायणकाजी र वैद्यसमेतको गठबन्धनको संकेत पनि गर्दछ । यस्तो अवस्थामा प्रचण्डलाई आफू कमजोर हुने डर हुन्छ र एकता नै कठिन हुन सक्छ ।

चुनावअघि नै एकता वा तालमेल गर्नुपर्ने बाध्यता

तर, नेताहरुले जतिसुकै ठुला कुरा गरे पनि चुनावअघि नै दुई पार्टीवीच एकता गर्नुपर्ने दबावमा दुबै समूहका नेताहरु पर्न थालिसकेका छन् । वैद्यसँग पार्टी एकता नगरी चुनावमा गए तेस्रो शक्ति भइने डर प्रचण्ड पक्षमा छ । वैद्यसँग एकता पनि नगर्ने मधेसीसँग मोर्चा पनि नबन्ने र आफ्नै पार्टीभित्र टिकटको लफडा र आर्थिक समस्याले गाँज्ने स्थितिमा प्रचण्डपक्ष चुनावमा गयो भने दोस्रो या तेस्रो शक्तिमा खुम्चने डर नेताहरुमा भित्रभित्रै पलाइसकेको छ ।

वैद्यपक्षको संकट पनि प्रचण्डको पक्षको भन्दा कम हैन, अझ बढी छ । एक्लै चुनावमा जाँदा वामदेव गौतमका पालाको पूर्वमाले भइने डर वैद्य समूहमा छ । त्यस्तै चुनाव बहिस्कार गर्दा ०४८ सालको पूर्वमसाल भइने डर छ । यो अवस्थामा प्रचण्डसँगै पार्टी एकता वा त्यो नभए चुनावी तालमेल गर्नु वैद्यका लागि सुरक्षित गन्तव्य देखिन थालेको छ । तर, यसो गर्दा आफूलाई भन्दा बढी फाइदा प्रचण्ड पक्षलाई पो पुग्ने हो कि भन्ने चिन्तामा पनि उनीहरु देखिन्छन् । यद्यपि दुबै समूहमा गहिरो संकट पर्दै गयो भने चुनावअघि नै यिनीहरुले या त तालमेल गर्छन्, या एकता । दस्तावेजका आधारमा वैद्य र प्रचण्ड दुबैका लागि कांग्रेस र एमालेभन्दा नजिकका मित्रशक्ति पनि उनीहरु नै हुन् ।

संकटमा नपरेसम्म एकता असम्भव

तर, आन्तरिक संकटमा नफसेसम्म यिनीहरु आपसमा मिल्दैनन् । चुनावमा एक्लै जित्छु भन्ने घमण्ड नतोडिएसम्म प्रचण्डले वैद्यपक्षसँग आत्मसमर्पण गर्ने छैनन् । यो घमण्ड तोडिएको महसुस चुनावअघि नै या पछिमात्रै पनि हुन सक्छ ।

वैद्यपक्ष पनि आत्मरक्षाको संकट आएपछि मात्रै प्रचण्डसँग मिल्न तयार हुन्छ । तर, एउटा पक्षमात्रै कमजोर भयो र अर्कोपक्ष गलेन भने एउटाको मात्रै अनुनयले मात्रै पनि यी दुई समूह मिल्दैनन् । दुबैले हारेका अवस्थामा मात्रै एकता सम्भव छ ।

वैद्य, राई र यादव मिलेर आए चारदललाई अप्ठ्यारो पर्न सक्ने

पछिल्लो समयमा वैद्यपक्ष संकटकै वीचमा पनि आक्रामक बन्दै गएको छ । उसले एजेन्डाका आधारमा अशोक राई समूह र उपेन्द्र यादव समूहसँग तालमेल गरेको छ । पूर्वको लिम्बुृवान र खम्बुवानका क्षेत्रीय दलहरुसँग वैद्यपक्षको एलायन्स छ । चुनावलाई बिथोल्न खोजेकोमा मात्रै जनता वैद्यपक्षसित आक्रोशित भएका हुन्, भोलि चारदलको शेखी झार्न भन्दै यी तिनवटै समूह मिले भने वैद्यले एमाओवादीलाई, राईले एमालेलाई र यादवले गच्छदारलाई निकै कमजोर बनाउन सक्छन् र तीनदलीय एवं क्षेत्रीय दलसँग तालमेल गरेर अघि बढे भने चुनावमा वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न सक्दैनन् भन्न सकिन्न । यस्तो स्थिति विकास भयो भने वैद्य पक्षले प्रचण्डपक्षसित एकता वा गठबन्धन नगर्न पनि सक्छ ।

चार दलले वैद्य, राई र यादवलाई जति पेल्दै लान्छन्, उनीहरु पनि आफ्नो अस्थित्व रक्षा गर्न चार दलको सिन्डिकेट भत्काउन र एकगठ बन्दै जाने छन् । र, त्यो अवस्थामा प्रचण्डको चाहनाले मात्रै वैद्यपक्षसँग एकता नहुन सक्छ । वैद्य, राई, यादव र खम्बुवान-लिम्बुवान आपसमा मिले भने चुनावसमेत कठिन हुने संकेत हालै घोषणा गरिएको उनीहरुको नेपाल बन्दको प्रभावलेसमेत देखाइसकेको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस